ल्होसारको फेरिँदो स्वरूप ! - our manasalu blog

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday 31 December 2017

ल्होसारको फेरिँदो स्वरूप !

गौरी तमु
काठमाडौँ — तमु ल्होसार/ल्होछार नजिकिँदै गर्दा गुरुङ समुदायमा गाउँदेखि सहर र स्वदेशदेखि विदेशसम्म विभिन्न कार्यक्रम भइरहेका छन् । ल्होसारलाई लक्षित गरी सांगीतिक, साहित्यिक, शैक्षिक, स्योंकै (वनभोज), चिठ्ठा खोल्ने कार्यक्रम, परदेशिएकाहरू घरदेशमा आउने एवं ल्होसारकै लागि विभिन्न सांस्कृतिक कार्यक्रम र गुरुङ पुरोहित (खेगी, लम) लिएर विदेश जाने क्रम बढ्दो छ ।
अन्नपूर्ण, मनास्लु हिमचुली पहाडको दक्षिण पहाडको क्षेत्र हँुदै नेपालको पूर्वी पहाड र केही मात्रामा भुटान, सिक्किमसम्म फैलिएका गुरुङहरू बढ्दो भूमण्डलीकरणका कारण संसारभर छरिएर रहेका छन् । आफू जहाँ रहे पनि आफ्नो भाषा, संस्कार संस्कृतिलाई माया गर्ने गुरुङ समुदायले पुस १५ गतेलाई तमु ल्होसार/ल्होछारका रूपमा संसारभर धुमधामले मनाउँछन् । गुरुङ समुदायले यो वर्ष पुरानो च्ह्य ल्हो (चरा वर्ग) को बिदाइ र नयाँ खी ल्हो (कुकुर वर्ग) को स्वागत गर्दै हर्षोल्लासका साथ ल्होसार/ल्होछार मनाउँदैछन् ।

ल्होसारले गुरुङ समुदायमा नयाँ संवत्को सुरुवात गराउँछ । यही दिन आफ्नो गुरु प्रथम महापुरुषको जन्म भएको हुनालेसमेत गुरुङ समुदायले यो चाड मनाउँछन् । हिन्दु शास्त्रमा १२ वटा राशिको महत्त्व रहेजस्तै गुरुङ शास्त्रमा पनि चरा र जनावरको नामबाट नामकरण गरिएका १२ वर्गको विशेष महत्त्व रहन्छ । प्रत्येक वर्ष एउटा वर्गले भोग गरेपछि अर्को वर्ष नयाँ वर्गको सुरुवात हुन्छ । गुरुङहरू गुरुङ पात्रोअनुसार नै आफ्नो उमेर गणना गर्छन् भने लामा र पच्यु शास्त्र अनुसार वर्ग हेरेर शुभ–अशुभ पत्ता लगाई पूजापाठ र ग्रहशान्ति गर्छन् । पुस १४ गते रातिदेखि नै विशेषत: गुरुङ युवायुवती ल्होसार/ल्होछार स्वागत गर्न आगो बालेर नाचगान गर्दै जागा बस्छन् भने १५ गते बिहानै गुरुङ पोसाकमा सजिएर गुम्बा र क्होइवो (मन्दिर) मा गई पूजापाठ गरी लम, पच्यु गुरुहरूद्वारा रिपा, खदा लगाई मान्यजनबाट आशिर्वाद ग्रहण गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्दै यो चाड मनाउँछन् । पछिल्लो समय शैक्षिक चेतनाको वृद्धि, सूचना, सञ्चार र प्रविधिको विकास, बसाइँ–सराइ, विदेशिने क्रम र सामाजिक सञ्जालको बढ्दो प्रयोगले समेत ल्होसारको स्वरुपमा केही परिवर्तन भएको पाइन्छ ।

उहिलेको ल्होसार
सहर, बजार र विदेशमा भन्दा गाउँघरमा ल्होसारको रौनक हुन्थ्यो । घरहरू अहिलेजस्तो मान्छेविहीन रित्तो हुँदैनथे । ल्होसार आएपछि बाटो, घर, चोक र आँगनहरू सामुहिक रूपमा सरसफाइ गरिन्थे । सामुहिक रूपमै स्योंरा (भैलो) खेलेर उठेको चामल र रकमबाट सामाजिक काम गर्नुका साथै फराकिलो फाँट या खेतबारीमा गएर ल्होसार मनाइन्थ्यो । नजिकैका नातेदार एवं आफ्ना छोरी–ज्वाइँलाई मिठो–मसिनो खान निम्त्याइन्थ्यो । ल्होसार मनाउँदा आफ्नै गाउँका कलाकारहरूद्वारा पुरानो लोकभाकामा नाचगान एवं रमाइलो गरिन्थ्यो । नाचगानमा बजाइने सामग्री डम्फु, मादल, खैंजडी, सारङ्गीहरू गाउँघरमै बनाइन्थे ।

गाउँघरमै बुनिएका गुरुङ पोसाकहरू (भाङ्ग्रा, घलेक, पछ्यौरी आदि) लगाइन्थ्यो । आर्थिक हिसाबले सबै स्तरका गुरुङले समान किसिमले एकै ठाउँमा बसेर ल्होसार मनाउँथे ।
मातृभाषा बोलिन्थ्यो, आफ्नै भाषामा गीत गाइन्थ्यो । आपसमा गहिरो आत्मियता हुन्थ्यो । एक गाउँले अर्को गाउँलाई पालैपालो भोज खुवाउने कार्यक्रम पनि हुन्थे । ल्होसारका बेला छेलो हान्ने खेल हुन्थे । यी क्रियाकलापले स्थानीय गीत, संगीत र गुरुङ भाषा संरक्षणमा सहयोग पुर्‍याउँथ्यो । गाउँघरमै बुनिएका गुरुङ पोसाकको प्रयोगले स्थानीय व्यवसाय प्रबद्र्धन गथ्र्याे । अहिले जस्तो सूचना र सञ्चारको विकास थिएन, शुभकामना आदान–प्रदान प्रत्यक्ष भेटघाटमा मात्रै सीमित हन्थ्यो । उहिलेको ल्होसार तडक–भडक र विवादरहित हुन्थ्यो । ल्होसार कि ल्होछार भनेर शब्दमा विवाद पनि सुनिँदैनथ्यो । गुरुङहरू फरक धार्मिक संस्थामा विभाजित थिएनन् ।

अहिलेको ल्होसार
अहिले गुरुङहरू सहर, बजार र विदेशसम्म छरिएर रहेका छन् । गुरुङ गाउँहरू सुनसान छन् । ल्होसारको रौनक गाउँमा कम, सहर एवं बेलायत लगायतका मुलुकमा बढी देखिन्छ । ल्होसारका कार्यक्रमहरू अब फाँट र खेतका गराहरूबाट समाजघर र पार्टी प्यालेसमा हुनथालेका छन् । अहिले सप्ताहब्यापी कार्यक्रम र भोज खानेचलन बढ्दो छ । पोसाकको नाममा गहना प्रदर्शनको लहर बढ्दैछ । युवायुवतीमा पुरानो डिजाइनका गुरुङ पोसाकलाई आधुनिक किसिमले पहिरिने क्रम बढ्दो छ, जुन दु:खद कुरो हो । ल्होसारमा विस्तारै विदेशी गीत–संगीतको समेत प्रभाव परिरहेको छ ।

पोखराको सन्दर्भमा एउटै गाउँका गुरुङहरू बसाइँ–सराइसँगै सहर पसेपछि विभिन्न समाज र समुहमा प्रवेश गर्दैछन् । जनसंख्या वृद्धिका कारण अब गाउँमा जसरी सहरमा ल्होसार एकै ठाउँमा मनाउन सम्भव पनि छैन । ल्होसारको शुभकामना आदान–प्रदानको कार्यक्रम सञ्चारका माध्यमबाट पनि दिन थालिएका छन् । सामाजिक सञ्जालहरूको प्रयोगले ल्होसार/ल्होछार कार्यक्रमको विशेषतार महत्त्व अहिले गैरगुरुङ समुदायले पनिबुझ्दैछन् । त्यसो त ल्होसारकै अवसर पारेरनयाँ काम सुरु गर्ने, पुस्तकहरू प्रकाशित गर्ने, विमोचन गर्ने, समाजसेवामूलक काम गर्नेजस्ता सकारात्मक संस्कारको सुरुवात पनि भएको छ । तर अहिलेको ल्होसार कार्यक्रमहरूमा धेरै ठाउँमा गुरुङ गीत कम र विदेशी गीत बढी बज्न थालेका छन् । त्यस्तै अघिल्लो पुस्ताबाट दोस्रो पुस्तामा सीप हस्तान्तरण नहँुदा र सबै सहर एवं विदेश पलायन भएपछि गाउँघरमै तानमा बुनिने राडीपाखी, गुरुङ पोसाक र स्थानीय पेसाहरू नैसङ्कटमा छन् ।

उहिले गाउँमा एकै ठाउँ भेला भएर ल्होसार मनाउने गुरुङहरू अहिले गुम्बा र क्होइबोमा विभाजित भएका छन् । ल्होसार र ल्होछार शब्दमा विवादहरू बढ्दैछन् । एक पक्षधर गुरुङरु ल्होसार अर्थात ल्हो (वर्ग) सार (फुल्नु) भन्दैछन् भने अर्का पक्षधर गुरुङहरू ल्हो (वर्ग) छार (नयाँ) भन्दैछन् । अब गुरुङ समुदाय यी सामान्य शब्द विवादमा अल्झिनु हँुदैन । गुरुङ समुदाय यस्तै झिनामसिना समस्यामा अल्झिरहेका छन् । नेपालमा अहिले गुरुङ समुदायको तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्), तमु धिं, तमु बौद्ध सेवा समिति, तमु प्ये ल्हुँ संघ लगायतका संघ–संस्थाका शाखा विदेशसम्म सक्रिय छन् । गोर्खा सैनिकहरूले आफ्नो परिवार नै बेलायत लान थालेपछि अहिले त्यहाँ गुरुङ समुदायको उल्लेख्य उपस्थिति छ । त्यसकारण पनि नेपाल बाहिर बेलायतमा सबैभन्दा ठूलो ल्होसार कार्यक्रम हुने गरेको छ । ती कार्यक्रम गुरुङ समुदायका लागिमात्रै लक्षित हुँदैनन् ।

अबको ल्होसार
गुरुङ समुदायले गाउँ हँुदै सहर र सहर हुँदै विदेशसम्म धुमधामसाथ तमु ल्होसार मनाउँदै गर्दा यसका सामाजिक, धार्मिक, सांस्कृतिक, वैज्ञानिक महत्त्व अनुरुप आफ्नो भाषा, साहित्य, संस्कार, संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्नुपर्छ र यसमा सबै गुरुङहरूलाई एकै सूत्रमा बाँध्न सक्नुपर्छ । सबैलाई खि ल्होसारको आशिमला  !
साभार : ई कान्तिपुर डट कम

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here